कांग्रेस र एमाले मिल्दा छटिपटीमा प्रचण्ड, रविमाथि सहकारी ठगीको तरबार

कांग्रेस र एमाले मिल्दा एक तिर, दुई शिकार भएको छ। पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भइसकेको छ। जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। त्यसपछि आलोपालोका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

तर, यसरी पहिलो र दोस्रो दल मिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छटिपटिमा परेका छन्। ३२ सिट भएर पनि प्रचण्ड डेढ वर्षदेखि प्रधानमन्त्री थिए। सुरुमा उनी प्रधानमन्त्री बन्न नपाउने भएपछि एमालेसँग मिल्न गए। डेढ महिनामै गठबन्धन फेरेर फेरि कांग्रेससँग मिले। पछिल्लो ६ महिनादेखि एमालेसँग मिलेर सरकार चलाइरहेका प्रचण्ड आफूलाई जादुमय बताउने गरेका थिए। र, यो सरकार आगामी निर्वाचन अर्थात् ०८४ सम्म जाने बताइरहेका थिए।

तर, एकाएक सत्ताबाट बाहिरिनुपर्ने अवस्था आइलागेपछि प्रचण्ड रन्थनिएका छन्। सशस्त्र द्वन्द्वबाट आएको माओवादी गणतन्त्र यता हरेक सरकारमा साझेदार बन्दै आएको छ। ०७२ मा संविधान बनाउदा एमाले र कांग्रेस मिलेका थिए। त्यतिखेर माओवादी सरकार बाहिर थियो। त्यसयताका हरेक सरकारमा माओवादी छ।

कांग्रेस र एमाले मिल्दा अझ संकटमा परेका छन् रास्वपा सभापति रवि लामिछाने। सहकारी ठगीमा जोडिएका लामिछाने गृहमन्त्री भएपछि शक्तिशाली बनेका थिए। उनीमाथि प्रहरीले अनुसन्धान गर्न सकेको थिएन। तर, अब सरकारबाट बाहिरिने भएपछि उनीविरुद्ध जतिखेर पनि फाइल खुल्न सक्छ। त्यही भएर रविमाथि सहकारी ठगीको तरबार झुन्डिएको छ।

संसदीय हिसावमा पहिलो र दोस्रो दलको साझेदारी हुँदैन। तर, साना दलहरु च्याँखे थाप्न थालेपछि एमाले र कांग्रेस एकठाउँमा भएका छन्। यसले राजनीतिक स्थायित्वमा मद्दत पुग्न सक्छ, कुर्सीको खेलमा नलागेमा। अर्काेतिर प्रदेशमा हरेक महिना मन्त्री फेरिने र ६, ६ महिनामा सरकार ढल्ने भइरहेको छ।

कांग्रेस र एमाले गठबन्धनले मधेश बाहेकका प्रदेशमा स्थायि सरकार बन्नेछ। यी प्रदेशमा एमाले र कांग्रेसको सुविधाजनक बहुमत छ। मधेशमा पनि केही सिट मात्र कम छ, एउटा दलसँग सहकार्य गर्दा सरकार बन्छ।