२०२६ मा हुने टी–२० विश्वकपका लागि १२ वटा राष्ट्रको लाग्याे टुङ्गो

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण हालै सम्पन्न भएको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न नवौँ विश्वकपको उपाधि भारतले जित्यो । भारतले फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हरायो ।

अब टी–२० विश्वकपको १०औँ संस्करण सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्नेछन् । त्यो विश्वकपमा पनि २० वटै टोलीको सहभागिता रहने छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपका लागि १२ वटा राष्ट्रको भने अहिले नै टुङ्गो लागिसकेको छ ।

दुई वर्षपछि खेलिने टी–२० विश्वकपमा अमेरिका, आयरल्यान्ड र अफगानिस्तानको पनि सहभागिता पक्का भइसकेको छ । नवौँ संस्करणको ‘सुपर–८’ चरणमा पुगेका राष्ट्रहरूले स्वतः सन् २०२६ को टी–२० विश्वकप खेल्न पाउने प्रावधान छ ।यस आधारमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले स्वतः सन् २०२६ को टी–२० विश्वकप खेल्न पाउने छन् । नवौँ विश्वकपको उपाधि विजेता भारतले भने आयोजक राष्ट्रका रूपमा सन् २०२६ को विश्वकप खेल्नेछन् ।

नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएको श्रीलङ्काले पनि आयोजक राष्ट्रका रूपमा १०औँ टी–२० विश्वकप खेल्ने अवसर पाएको छ । यसका अतिरिक्त आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि स्वतः सन् २०२६ को टी–२० विश्वकप खेल्न पाउने छन् ।यी तीनवटै राष्ट्र नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएका थिए । नवौँ विश्वकपको फाइनल खेल सन् २०२४ को जुन २९ तारिखमा खेलिएको थियो । त्यसैले जुन ३० तारिखसम्मको आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले सिधै सन् २०२६ को विश्वकपमा प्रवेश पाएका हुन् । उक्त वरीयतामा न्युजिल्यान्ड छैटौँ, पाकिस्तान सातौँ र आयरल्यान्ड ११औँ स्थानमा थिए ।

सन् २०२६ मा हुने टी–२० विश्वकपका लागि बाँकी आठ टोलीको टुङ्गो भने छनोट चरणको खेलबाट लाग्नेछ । युरोपेली क्षेत्रको छनोट प्रतियोगिताबाट दुई, पूर्वीएसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट एक, अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट एक, एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट दुई र अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताबाट दुई राष्ट्र सन् २०२६ को टी–२० विश्वकपमा पुग्नेछन् ।

हालसम्म ६ वटा राष्ट्रले टी–२० विश्वकपको उपाधि जितेका छन् । वेस्ट इन्डिज, इङ्ल्यान्ड र भारतले दुई–दुईपटक टी–२० विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले पनि एक–एक पटक उपाधि चुमेका छन् ।