काँग्रेस-एमालेबीच ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय

नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा मङ्गलबार बेलुकीसम्म बसेको बैठकले अध्यक्ष ओली नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।पाण्डेका अनुसार सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओली नेतृत्वमा बन्ने सरकारलाई समर्थन र मार्गप्रशस्त निम्ति अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

हालको प्रमुख प्रतिपक्षी काँग्रेससँग मिलेर नयाँ सत्ता गठजोड बनाउने कसरतलाई अन्तिम रूप दिन खोजेको एमालेले तत्काल प्रधानमन्त्रीको राजीनामा चाहेको छ । तर प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने र विश्वासको मतको प्रक्रियामा जाने बताएका छन्‌ ।