मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ

 ललितपुरको मानभवनस्थित सुयोग सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र सचिव ३७ वर्षीय अर्पण कावा रहेका छन् ।

सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनी विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्ताहरूलाई हानी पुर्‍याएको प्रहरीको भनाई छ । संस्थाले १२०० जना बचतकर्ताहरूको निक्षेप अपचलन गरी हाल सम्म ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी प्राप्त भएको थियो ।

यस विषयमा गत वर्षको चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो । अनुसन्धानबाट अध्यक्ष सुनिल महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रूपमा ४ वर्ष काम गरेको खुलेको थियो । उनी २०७० साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रूपमा कार्यरत रहेका थिए ।

उनले सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिने जानेका, आफूले भनेको कुरा मान्ने मानिसहरू राखी बचतकर्ताको रकम आफूखुसी लगानी गर्दै आएको बुझिएको प्रहरीको भनाई छ । उनी २०८० सालमा  प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी देखिएको छ ।

यता मलिका महर्जन २०७६ साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेकी थिइन् । अर्पण कवा पनि २०७६ साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको सचिव पदमा कार्यरत रहेका थिए ।

मुद्दा दर्ता भएसँगै अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो । तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।