माधवलाई धर्मसंकट,ओलीलाई प्रधानमन्त्री मान्ने कि सरकारबाहिरै बस्ने ?

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालले गरेको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको हो ।एकीकृत समाजवादीका नेता आलोक रायमाझीका अनुसार सभापति देउवाले नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै नयाँ गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका छन् ।

अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए । देउवाको प्रस्तावलाई स्वीकार गर्दा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकारेर जानुपर्नेछ भने ओलीलाई प्रधानमन्त्री स्वीकार नगरे सरकारबाहिर बस्नुपर्नेछ ।

यसअघि ओलीविरुद्ध उत्रिएर अध्यक्ष नेपालले एमाले विभाजन गर्दै एकीकृत समाजवादी पार्टी बनाएका थिए । आफूले विभाजन गरेको पार्टीकै अध्यक्षलाई प्रधानमन्त्री मान्ने कि सरकारबाहिरै बस्नेमा अध्यक्ष नेपाल धर्मसंकटमा परेका छन् । कांग्रेस र एमालेबीच अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार बनाउने सहमति भएको छ ।