०७९ पछि देश सम्हालिएन, प्रचण्डले दोहोरो कुरा गरिरहे : एमाले अध्यक्ष ओली

सोमबार मध्यराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुँइको नदिई सत्तारूढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको समझदारीले राजनीतिक वृत्त अझै तरंगित छ। 

कांग्रेससँगको समझदारीपछि आजै नेकपा एमालेका मन्त्रीहरूले सरकार छाड्ने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सकिने बुझाइ एमाले नेतृत्वमा थियो। तर, सोचेजस्तो भइदिएन।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहानैबाट कानुनविद्, पार्टीका शीर्ष नेता र राष्ट्रपतिसम्म छलफल गरे। उनले संविधानले दिएको सुविधालाई उपयोग गर्ने बताउँदै तत्काल राजीनामा नदिने बताइसकेका छन्। 

पार्टीमा सबै ब्रिफिङ सकेर शीतलनिवास पुगेका प्रचण्डलाई राष्ट्रपति पौडेललाई पनि आफू संविधानअनुसार नै अघि बढ्ने जानकारी गराएर फर्किएका छन्। नेकपा एमालेले भने दिउँसो ३ बजेका लागि सचिवालय बैठक डोकेको थियो। एमाले प्रमुख सचेतकसमेत रहेका सांसद महेश बर्तौलाले त किटेरै आजै आफ्ना मन्त्रीहरूले राजीनामा दिने तयारी रहेको नेपालखबरसँग दाबी गरेका थिए। तर, सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने आँट गरेन। बरू, बुधबार (भोलि) बेलुकीसम्म प्रधानमन्त्रीको ‘मुभ’ हेर्ने र मार्गप्रशस्तका लागि आह्वान गर्ने निर्णय गर्‍यो। बदलिएको राजनीतिक समीकरणका बीच एमाले अध्यक्ष ओलीसहित चार–चार घण्टासम्म च्यासलमा बसेको बैठकले जम्माजम्मी प्रचण्डलाई मार्गप्रशस्त गर्न र अन्य दललाई कांग्रेस–एमाले गठबन्धनमा सामेल हुन आह्वान गर्ने निर्णय गरेको छ। 

तर, बैठकमा ओलीले राजनीतिक परिस्थितिबारे लामै चर्चा गरेको एक पदाधिकारीले नेपालखबरलाई सुनाए। ती पदाधिकारीका अनुसार, ओलीले ०७९ को निर्वाचनपछि देखिएको दृश्य, चाँडोभन्दा चाँडो फेरबदल भइरहेको सत्ता समीकरण र देशको अर्थतन्त्रबारे लामो ब्रिफिङ गरेका थिए। ‘सबै परिस्थितिको बारेमा अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ ती पदाधिकारीले ओलीको भनाइ उद्धृ गर्दै सुनाए, ‘०७९ को निर्वाचनपछि परिस्थिति सम्हालिएर गएन। झन् बिग्रँदै गयो। सरकार पुनर्गठनमै समय गयो। आर्थतन्त्र समस्यामा पर्दै गयो। संविधानको पनि संशोधन गर्नुपर्ने बेला भएको छ।’साथै, गत असार १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले शेरबहादुर देउवासँग राखेको प्रस्तावबारे पनि ओलीले बैठकमा ब्रिफिङ गरेका रहेछन्। 

‘संवैधानिक परिषद्को बैठकलगत्तै देउवासँग प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाऔँ भन्नुभएछ,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तर, देउवाले उहाँको कुरालाई पत्याइदिनुभएन। त्यसको दुई दिनपछि आरजुसहित बालकोटमा भएको बैठकबाट बल्ल चिज अघि बढ्यो।’उनले अघि भने, ‘हामीले विश्वास गरिरहेको परिस्थितिमा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउन पटकपटक भन्नुभएछ। हामीसँग भने केही कुरा भएन।’त्यसपछि मधेसकेन्द्रित दलहरूलाई पनि साथमा लिएर जाने गरी प्रचण्ड र ओलीबीच छलफल भयो। 

‘मूलतः संविधानको पुनरवलोकन गर्ने सन्दर्भमा दुई तिहाई बहुमत चाहिन्छ, जुन एमालेबिना सम्भव छैन,’ ओलीले बैठकमा भने, ‘अरू दल पनि सामेल भएको बेलामा त्यो कोर्स अगाडि जाने हो। त्यसका लागि मिल्नुपर्ने भयो।’

राजनीतिक परिस्थितिमा समस्या नआउने गरी देशलाई सही दिशामा अघि बढाउने ओलीको भनाइ थियो। ‘संविधान कार्यान्वयन सुरु भएको १० वर्ष भयो। यो १० वर्षमा कार्यान्वयनको समग्र रिभ्यू गरौँ। संविधानअनुसार कति काम भए, कति भएनन्। कार्यान्वयन गर्दै जाँदा कहाँकहाँ सुधार गर्न जरुरी छ भनेर भनेका हौँ। आवश्यक पर्दा संशोधन गर्छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने।