बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

 बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताउनुभयो । 

 सूचना अधिकारी पोखरेलका अनुसार पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने छ । आयोजना कार्यालयले काठेपुल राख्न उक्त स्थानको निरीक्षण गरिसकेको छ । पानी निरन्तर परिरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम छ । 

यसैबीच निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।