वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

प्रचण्डको जादु विफल, अब राजीनामा दिने कि विश्वासको मत सामना गर्ने ?

गत फागुन २१ मा कांग्रेसको साथ छाडेर एमालेतिर लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै कांग्रेस सांसद रमेश लेखकबाट सुन्नुपरेको थियो कि आज तपाईँले पालैपालो धोका दिएकाहरु भोलि तपाईंका विरुद्ध एक ठाउँमा उभिए के हाल होला ? 

त्यसको चार महिनापछि प्रचण्डले त्यही हविगत बेहोरेका छन् । विगतमा उनले पालैपालो धोका दिएका कांग्रेस र एमाले उनका विरुद्ध एक ठाउँमा उभिएका छन् । उनको जादुगरी नम्बरले पनि अब काम नगर्ने भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल भएर चित्त बुझाउनुपर्ने भएको छ ।  

https://barnanmedia.com/news/detail/181364/

छायानाथका प्रमुख प्रशासकीय अधिकृत सारुसमेत १० जनालाई सफाइ

मुगुको छायानाथ रारा नगरपालिकामा भ्रष्टाचार भएको मुद्दामा सबैलाई सफाइ दिने फैसला भएको छ । मंगलबार विशेष अदालतले यस मुद्दाका सबै प्रतिवादीहरुलाई सफाइ दिने फैसला गरेको हो । 

नगरपालिकाको वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नतिका क्रममा २८ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको दाबीसहित मुद्दा दायर भएको थियो । गत १५ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सबइञ्जिनियर हस्तबहादुर मल्ललाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो ।

https://barnanmedia.com/news/detail/181433/

निकुञ्जको कोर एरियामा भ्यु टावर र होटेल निर्माण गरेको मुद्दामा सबै प्रतिवादीलाई सफाइ

 चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा कंक्रिटको भ्यु टावर र होटेल निर्माण गरेर भ्रष्टाचार गरेको विषयमा सबै प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । 

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ७ मंसिरमा हानीनोक्सानी गरेको भनी मुद्दा दायर गरेको थियो । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनको विकास तथा विस्तारका लागि संरचना निर्माण गरेको भेटिएको थियो । 

खैरहनी नगरपालिकाबाट विनियोजित बजेटका साथै समितिको आन्तरिक कोषबाट मध्यवर्ती सामुदायिक वन क्षेत्रमा कंक्रिट मचान बनाउन निकुञ्जको सौराहा सेक्टरले अनुमति दिएको थियो । तर १८ कोठे पाँच तल्ले विशाल भवन निर्माण भएको भेटिएको थियो । साथै निःशूल्क काठ ढुवानी निकासी गरी लैजान अनुमति दिइएको र त्यसको दुरुपयोग भएको अभियोग लगाइएको थियो । 

https://barnanmedia.com/news/detail/181439/

आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ

चितवनमा आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् । १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।

उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैंले चोरी गर्न लगाएको देखिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

भारतमा सत्संग श्रद्धालुहरुको भागदौड मच्चिँदा ५० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ।

उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुर मुगलगढी गाउँमा मंगलबार भइरहेको सत्संगमा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएकाे छ।मृतकको संख्या अझै बढ्न सक्ने समाचारमा आइरहेका छन्। मृतकहरूको शव स्थानीय एउटा अस्पतालमा राखिएको सञ्चारमाध्यमले जनाएका छन्। मृतकको सनाखतको काम भने बाँकी छ।

एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला

भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ।

यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन् ।

ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २० मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।२०८० चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएकोमा उक्त मितिदेखि सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेको प्रहरीले जनाएको छ।

कृषि समितिमा सरकारले विधेयक दिन नसकेको गुनासो:आरजु राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरू दिन नसकेको गुनासो गरेकी छिन्। 

प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा सभापति राणाले समितिमा सरकारले विधेयकहरू दिन नसक्दा काम गर्ने इच्छा हुँदा पनि काम गर्न नपाएको बताएकी हुन्। 

कृषि समितिका सदस्यहरू काम गर्न तयार भएपनि समितिमा एउटा पनि विधेयक नभएको पनि उनले बताइन्। समितिमा एउटा पनि विधेयक नहुँदा बैठक समेत बस्ने वातावरण नभएको उनको भनाइ थियो।

हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी जेट विमान नष्ट गरेको रुसको दावी

 लामो समयदेखि प्रतीक्षा गरिएको एफ– १६ लडाकु विमानको आगमनका लागि किभ तयारी गरिरहेको समयमा हवाई अड्डामा गरिएको आक्रमणमा पाँच युक्रेनी सैन्य जेटहरू नष्ट गरेको रुसले दावी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले रुसको सीमाबाट करिब १५० किलोमिटर टाढा रहेको मध्य युक्रेनी सहर मिरगोरोड नजिकैको हवाई अड्डामा इस्कान्डर–एम क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।रुसी सेनाको आक्रमणको परिणामस्वरूप, पाँच परिचालन एसयू–२७ बहुउद्देश्यीय लडाकुहरू नष्ट हुनुका साथै मर्मत अन्तर्गत रहेका दुई क्षतिग्रस्त भएको टेलिग्राममा सार्वजनिक  विज्ञप्तिमा उल्लेख छ ।

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।     गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’  फोटो प्रदर्शनीको उद्घाटन गर्दै उहाँले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सधै चिरस्मरणीय रहने बताउनुभयो ।

गृहमन्त्री लामिछानेलाई विरुद्धको रिट हेर्दाहेर्दैमा

गृहमन्त्री रवि लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखी दायर रिट निवेदनमाथि सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ ।न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको र उनी पदमा बहाल रहे अनुसन्धान प्रभावित हुने भन्दै अधिवक्ता अनुपम भट्टराईले उनलाई निलम्बन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादलका छोरा समेत रहेका प्रतीक गत असार १४ गते शुक्रबार पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकराणमा उनको नाम मुछिएपछि उनी फरार रहेका थिए। 

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुन्तला कार्कीको एकल इजालसले पुर्पक्षका लागि थुनामा पठाउन भनेको हो।  

चितवन बजारका अधिकाँस पसलमा , फ्रिजमा कुहिएको मासु थप सामग्री

 चितवनको रत्ननगर स्थित टाँडी बजारका अधिकाँस माछा तथा मासु पसलका सञ्चालकहरुले मासुको खरिद विक्रीमा लापरबाही गरेको पाइएको छ ।

मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको छ भने केही पसलहरु अबैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको हो । रत्ननगर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा मासु पसलको अधिकाँस मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको उपमेयर यादब प्रसाद पाठकले जानकारी दिनुभयो ।

झापामा हात्तीको त्रास, चालु आवमा छजनाको मृत्यु

 मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो”, घाइते भीममायाका पति डिल्ली राईले भन्नुभयो,“साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।” 

जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिँदै बस्नुपर्ने अवस्था छ । असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट ग¥यो । “हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल  दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो,“मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !” 

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत

 राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव प्रस्तुत गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजीकरणका लागि आवश्यक व्यवस्था गरिएको बताउनुभयो । दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समिटिने बताउँदै उहाँले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री भण्डारीले भन्नुभयो, “लगानी सम्मेलनको तयारी गर्नुपर्ने अवस्था भएकाले तत्काल अध्यादेश ल्याउनुपर्ने अवस्था थियो । सरकारी तथा गैरसरकारी निकायसँग पर्याप्त छलफल गरेर त्यसका विविध पक्षहरुमा छलफल गरेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको हो ।”