आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ

चितवनमा आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् । १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।

उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैंले चोरी गर्न लगाएको देखिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको प्रवक्ता बोगटीले जानकारी दिए ।

त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेको थियो ।