बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादलका छोरा समेत रहेका प्रतीक गत असार १४ गते शुक्रबार पक्राउ परेका थिए। 

नक्कली भुटानी शरणार्थी प्रकराणमा उनको नाम मुछिएपछि उनी फरार रहेका थिए। 

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुन्तला कार्कीको एकल इजालसले पुर्पक्षका लागि थुनामा पठाउन भनेको हो।  

अदालतको आदेशसँगै उनलाई केन्द्रीय कार्यालय पठाइएको छ। 

थापाविरुद्ध २०८० साल जेठ १० नै मुद्दा दायर गरेको थियो। तर उनी फरार रहेका थिए। भुटानी शरणार्थी प्रकरणमा ३० प्रतिवादी बनाइएकोमा थापासहित केही व्यक्ति फरार थिए। 

उक्त मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्। भने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहितका आरोपीहरु भने धरौटीमा रिहा भएका छन्।