चितवन बजारका अधिकाँस पसलमा , फ्रिजमा कुहिएको मासु थप सामग्री

 चितवनको रत्ननगर स्थित टाँडी बजारका अधिकाँस माछा तथा मासु पसलका सञ्चालकहरुले मासुको खरिद विक्रीमा लापरबाही गरेको पाइएको छ ।

मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको छ भने केही पसलहरु अबैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको हो । रत्ननगर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा मासु पसलको अधिकाँस मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको उपमेयर यादब प्रसाद पाठकले जानकारी दिनुभयो ।

यहाँका अधिकाँस मासु पसलहरुमा सरसफाई नभएको पाइएको छ । पशुवथ गर्ने ठाउँ र विक्रीका लागि मासु राख्ने ठाउँमा फोहोर भेटिएको छ । मन्जुर आलम मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको छ । झण्डै एक महिना अघि काटेको खसीकोको मासु लामो समय फ्रिजमा राखिएको र सो मासु कुहिएको अबस्थामा भेटिएको उपमेयर पाठकले जानकारी दिनुभयो । कुहिएको मासु तत्काल नष्ट गर्न समेत नगरपालिकाको अनुगमन टोलीले निर्देशन दिएको छ । मासु पसलका अधिकाँस फ्रिज फोहोर रहेको पाइएपछि सरसफाई गर्न निर्देशन दिएको छ । टाँडी र सौराहाचोकको बीचमा रहेको पुल नजिक सञ्चालनका रहेको टाँडी फिस मार्ट सहित चार वटा मासु तथा माछा पसल सील गरिएको छ । माछा व्यवसायी समेत रहेको मनोज सहनीले सञ्चालन गरेको टाँडी फिस मार्ट विना दर्ता सञ्चालनमा रहेको पाइएपछि बन्द गरिएको उपमेयर पाठकले बताउनुभयो ।

उक्त पसलमा जीउँदो माछा भन्दै मरेको माछा विक्री गरिरहेको र पसलको फ्रिजमा कुहिएको माछा समेत भेटिएको छ । पसल दर्ता गरिएको छैन्, जीउदो भन्दै मरेको माछा विक्री गरिँदो रहेछ उपमेयर पाठकले भन्नुभयो । चित्त बुझाउने ठाउँ नभएपछि पसल बन्द गरिएको हो । अनुगमन टोलीले वडा नं २ टाँडीमा विना दर्ता सञ्चालनमा रहेका सोनी मिट सप्लायर्स, मुस्कान मासु पसल, तबरेज मिट हाउस समेत सील गरेको छ । व्यवसाय दर्ता गर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि अनुगमन टोलीले पसल बन्द गर्न बाध्य भएको नगरपालिकाका अनुगमन शाखा अधिकृत अर्जुन पंगेनीले जानकारी दिनुभयो । अनुगमन टोलीले जाबेद मिट सप्लायर्स, दाजुभाई माछा पसल, सोहन मिट हाउस, टाँडी फ्रेस हाउस, अनिस मिट हाउस, साजन मिट हाउस, चैनपुर जिउादो माछा पसल, चितवन मिट मार्ट, रोहित मिट हाउस, रोयल लोकल मिट सप्लायर्स, आरुषी फ्रेस हाउस, हिमालय फ्रेस हाउस न्यू खनाल मिट सप्लायर्समा अनुमगन गरेको हो । नगर स्तरीय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष उपमेयर पाठकको नेतृत्वमा नगरपालिकाको अनुगमन टोली, नगर प्रहरी र सञ्चारकर्मी सहितको टोलीले मासु पसलको अनुगमन गरेको हो ।

उपमेयर पाठकले टाँडी बजारका अधिकाँस मासुपसलहरुले न्यूनतमन मापदण्ड समेत पुरा नगरेको बताउनुभयो । यहाँका अनुसार पसल दर्ता, नविकर, बथगर्ने ठाउँको सरसफाई, फ्रिजमा राखिएको मासुमा समेत लापरबाही भेटिएको छ । फ्रिजमा खानै नहुने अबस्थाको मासु भेटियो उनले भने व्यापारीले त्यो विक्रीकै लागि राखेको हुनुपर्छ । लामो समय सम्म विक्री नभएको मासु कुनै पनि हालतमा विक्री गर्ने नियतले फ्रिजमा राखिएको र त्यसलाई तत्काल नष्ट गर्न निर्देशन दिइएको उपमेयर पाठकले बताउनुभयो ।

दर्ता नभएकालाई दर्ता गर्न, नविकरण नभएकालाई नविकरण गर्न र सरसफाईमा सुधार गर्न निर्देशन दिइएको छ । अनुगमन टोलीले मंगलबारै विद्यालय तथा क्णम्पसमा सञ्चालित क्यान्टिनको समेत अनुमगन गरेको शाखा अधिकृत पंगेनीले जानकारी दिनुभयो ।