एक घण्टा छलफल गरेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए गृहमन्त्री रवि

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट फर्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एक घण्टा छलफल गरेर रवि बालुवाटारबाट बाहिरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए।

सत्तारुढ मुख्य घटक नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्यको यात्रा सुरु गर्ने भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री लामिछाने बालुवाटार पुगेका थिए।  उनीहरूबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। 

रास्वपाले नयाँ बन्ने गठबन्धनमा आफ्नो पार्टी सहभागी नहुने निर्णय गरिसकेको छ। गृहमन्त्री लामिछानेले आफ्नो पार्टीको औपचारिक निर्णयबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।  सोमबार मध्यराति एमाले र कांग्रेसबीच भएको सत्ता सहयात्राको समझदारीले राजनीति थप तरंगित भएको छ।