सहकारी सम्बन्धी संसदीय छानबिन समितिले राजनीतिक दलसँग सुझाव माग्ने

 सहकारी संस्थाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ ।

मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय दलको मान्यता पाएकाहरूबाट सहकारी समस्या समाधानका लागि सुझाव लिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका संयोजक सूर्य थापाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए ।

थापाले भने, ‘राजनीतिक दलका विभिन्न नेताहरू संग्लन रहेको पनि पाइएको छ । यसकारण शुद्धीकरण र समस्या समाधानको लागि राजनीतिक क्षेत्रले जवाफदेही ढङ्गले छानबिन अभियानमा साथ दिन आवश्यक छ ।’

आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।