कांग्रेस-एमाले समीकरणले लोकतन्त्रलाई खतरा पार्छ : जगन्नाथ खतिवडा

नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् ।

सोमबार मध्यराति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि खतिवडाले उक्त प्रतिक्रिया दिएका हुन् ।

वर्तमान सत्तारुढ दल एकीकृत समाजवादी दशौँ राष्ट्रिय महावेशनमा व्यस्त रहेका बेला सत्ता परिवर्तनको खेल भएको छ ।

‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो’, उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो ।’

खतिवडाले कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा अमिल्दो भएको बताए ।

‘कांग्रेस र एमाले मिलेर सत्ता चलाउने नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति खतरा हो’, उनले भने, ‘यसबाट प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन हामीलाई मान्ने छैन। यो अधिकार अमुक दललाई छैन ।’