प्रचण्डलाई ओलीको जवाफ : ‘के हो’ भनि सोध्दा , ‘केही नभएको’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भयो । सोमबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको सहमति गरेको ओली बिहानै बालुवाटार पुगेका हुन् । 

भेटमा प्रचण्डले ‘के हो’ भनि सोधेका थिए । तर, ओलीले ‘केही नभएको’ जवाफ दिएका छन् । ओलीसँगको भेटपछि बालुवाटारमा नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक बसेको थियो । माओवादीका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीसँगको भेटमा ओलीले केही नभएको जवाफ दिएका छन् । “ओलीले केही भएको छैन भन्नुभएछ । कांग्रेससँग सहमति गरेको कुरा यति बाहिर आइसकेपछि पनि केही भएन भनेर ओलीले झालेमाले जवाफ दिनुभयो । उहाँको यो व्यवहार अनौठो छ,” माओवादीका एक पदाधिकारीले भने । 

ओलीले सोमबार र मंगलबार प्रधानमन्त्रीसँग लामै भेट गरेका थिए । भेटमा पनि केही नहुने बताएको तर, राति नै सहमति गरेकोमा माओवादी नेताहरू आक्रोशित बनेका छन् । ओलीले कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यस विषयमा भने छलफल गरिने बताएका छन् । “उहाँले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्नु भएछ । त्यसमा छलफल गरौँ भन्नुभएछ । कांग्रेस–एमाले बसेर राष्ट्रिय सहमति हुन्छ ? सहमतिको सरकार नै बनाउने भए पहिले किन कुरा भएन,” ती पदाधिकारीको प्रश्न छ । 

ओलीले सरकार परिवर्तन हुने, आफूले मन्त्रीहरू फिर्ता बोलाउने विषयमा कुनै कुरा नगरेको ब्रिफिङ प्रचण्डको छ । ओलीले प्रष्ट कुरा नगरेकाले राजीनामा दिने वा विश्वासको मत लिने भन्नेमा अझै प्रष्ट नभएको ती पदाधिकारीको भनाइ छ । “एमालेको मन्त्रीको राजीनामा आओस् । त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेमा निचोडमा पुग्नेछौँ,” उनले भने । 

पदाधिकारी बैठकबाट बाहिरिएपछि पार्टीका सचिव देवेन्द्र पौडेलले भने सदनमा विश्वासको मतको सामना गर्ने निचोडमा पुगिएको बताएका थिए ।