मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफूमाथि घात भएको बताएका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि आज बिहान बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले आफूमाथि घात भएको बताएका हुन् ।  सोमबार साँझसम्म पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केही भएको छैन’ भनेर आफूलाई झुक्याएको प्रचण्डको गुनोस छ ।

‘हिजो रातिसम्म पनि ओलीजीले केही भएको छैन भन्नुभएको थियो । राति सवा १२ बजे हस्ताक्षर गरेको सन्दर्भमा कुरा स्पष्ट भइसक्यो । विना कारण गठबन्धन फेर्नुपर्ने आवश्यकता थिएन । हामीमाथि ठूलो घात भयो।,’ प्रचण्डको भनाइलाई उद्धृत गर्दै माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले भने ।

प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा नदिने मनशाय बनाएका छन् । उनले संसदमा विश्वासको मतको सामना गर्ने भएक छन् ।