रास्वपाले प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तत्काल सरकार नछाड्ने बताएको छ । एमाले र कांग्रेसबीच सहमति भएको अवस्थामा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने निर्णय गरेको हो । 

रास्वपाको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको हो । प्रचण्ड सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित चार जना मन्त्रीहरु रहेका छन् । रास्वपाले नयाँ सरकारमा भने सहभागी नहुने बताएको छ । 

यसअघि माओवादी केन्द्रले पनि सरकार नछाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नछाड्ने विश्वासको मत लिने निर्णय गरेका हुन् । 

मंगलबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको हो । यदि एमालेले विश्वासको मत फिर्ता लिए त्यसको सामना गर्ने निर्णय पनि माओवादीले गरेको छ । एमालेले विश्वासको मत फिर्ता लियो भने विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ । 

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि बाहिर आएको कुराबारे अझै स्पष्ट भइनसकेको र यदि कसैले विश्वासको मत फिर्ता लिए संसदबाट विश्वासको मत लिने निर्णय भएको बताए ।