प्रचण्डको जादु विफल, अब राजीनामा दिने कि विश्वासको मत सामना गर्ने ?

गत फागुन २१ मा कांग्रेसको साथ छाडेर एमालेतिर लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै कांग्रेस सांसद रमेश लेखकबाट सुन्नुपरेको थियो कि आज तपाईँले पालैपालो धोका दिएकाहरु भोलि तपाईंका विरुद्ध एक ठाउँमा उभिए के हाल होला ? 

त्यसको चार महिनापछि प्रचण्डले त्यही हविगत बेहोरेका छन् । विगतमा उनले पालैपालो धोका दिएका कांग्रेस र एमाले उनका विरुद्ध एक ठाउँमा उभिएका छन् । उनको जादुगरी नम्बरले पनि अब काम नगर्ने भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल भएर चित्त बुझाउनुपर्ने भएको छ ।  

नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्डका सामु अब तत्कालै राजीनामा दिने कि विश्वासको मत सामना गर्ने भन्दै ३० दिन सत्ता लम्ब्याउने भन्ने मात्र बाँकी छ । अहिले उनी पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् ।

एमालेले आजै समर्थन फिर्ता लिने र मन्त्रीहरुले पनि राजीनामा दिने तयारी छ । एमाले सरकारबाट फर्किएलगत्तै  प्रचण्ड अल्पमतमा पर्नेछन् । अब कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीका शीर्ष नेताहरुसँग उनले छलफल गरिरहेका छन् । माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले एमालेबाट कांग्रेससँगको सहमतिबारे अहिलेसम्म औपचारिक रुपमा जानकारी नआएको बताए ।

उनका अनुसार एमालेबाट समर्थन फिर्ता गरेको खबर गरेको छैन । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत पाउनुभएन भने संविधानका धारा ७६ को ३ मा जान्छ । त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो। 

अर्थात् ३० दिन सत्ताको हलो अड्काएर त्यसपछि ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने र उनलाई माओवादीले समर्थन गरेर विश्वासको मत दिने खेलबारे पनि माओवादी सोचिरहेको देखिन्छ । देउवाले पनि तत्कालै पाएको प्रधानमन्त्री छाडेर डेढ वर्षपछिको उधारो पद कुरेर कसरी बस्नु भन्ने मनःस्थिति बनाएमा ओली फेरि पनि जिल्लिन सक्नेछन् । त्यसैले प्रचण्डले विश्वासको मत लिने बाटो खोजेका हुन सक्छन् । 

एमाले अध्यक्ष ओलीले भने सोमबार नै बालुवाटार गएर प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न भनिसकेका छन् । यति मात्र होइन ओलीले भावी सरकारमा पनि माओवादी सामेल हुनुपर्ने भनेका छन् । राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधान संशोधनसमेत गर्ने भएकाले माओवादी प्रतिपक्षमा बस्न नपाउने ओलीको भनाइ थियो ।  

रातभरिमा विकसित घटनाक्रमको समीक्षा र आगामी रणनीति तय गर्न प्रधानमन्त्री प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक पनि राखेका छन् । एमाले र कांग्रेस मिलेर २०४७ सालको संविधानतिर फर्काउनतिर लागेको माओवादीको बुझाइ छ । 

माओवादीका एक नेताले भने, ‘संविधान संशोधन गरेर समानुपातिक समावेश हटाउने कुरा आएका छन्। जनताले प्राप्त गरेको उपलब्धिलाई फर्काउने प्रतिगामी कदम नै हो। संविधान संशोधन गर्ने, समानुपातिक समावेशि हटाउने, निर्वाचन प्रणाली हटाउन भनेको छ, गणतन्त्र राख्ने ०४७ सालको संविधानमा फर्काउनेतिर गयो।’

उनले एमाले र कांग्रेस मिलेपछि अब माओवादीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । कांग्रेस र एमालेबीच ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्नेदेखि संविधान संशोधन गर्ने सहमति बनेको छ ।