बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्री बर्षमान पुन

नेकपा माओवादीका उपमहासचिव एवं अर्थमन्त्री बर्षमान पुनले सत्ता सहकार्य टुटेको स्वीकार गर्नुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी गर्ने सहमति जुटलगत्तै पुनले माओवादी केन्द्र प्रतिपक्षमा बस्ने बताएर गठबन्धन टुटेको बताउनु भएको हो ।

अर्थमन्त्री पुनले एमालेलाई बाइपास गरेर बजेट ल्याउनुका साथै बजेटबारे अध्यक्ष केपी शर्मा ओलीसँग सामान्य परामर्शसमेत नगरेपछि कांग्रेस एमाले समीकरण बन्ने बातावरण बनेको थियो ।मन्त्रिपरिषद बैठकबाट बजेट पास गर्दासमेत सत्तारुढ दलका प्रमुख नेता अध्यक्ष ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री पुनले सामान्य जानकारीसमेत दिनुभएको थिएन ।

सो घटनाप्रति अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग ‘जे मन लाग्छ गर्नाेस, कुनै चिन्ता नलिखोस, हामीलाई अव केही सोध्नु पनि पर्दैन । थप चिन्ता लिनु पर्दैन, हामी भोट हालेर बजेट पास गरिदिन्छौं’ भन्दै सालिन प्रतिवाद गर्नुभएको थियो । ओलीको यो भाषा नबुझ्नुको परिणाम प्रधानमन्त्री सत्ताबाटै बाहिर पुग्नुपरेको छ । आफ्नै कारण सरकार ढलेको तथ्यबारे जानकार अर्थमन्त्री पुनले भने एमाले अध्यक्ष ओलीमाथि दोषारोपन गर्नुभएको छ ।

सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि मन्त्री पुनले आश्चर्य व्यक्त गर्नुभएको हो । पुनले नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको आरोप पनि लगाउनु भएको छ ।

‘समस्या बजेटमा होइन । बेचन झाबाट समस्या भएको हो । झा पक्राउ परेपछि कांग्रेस साह्रै डरायो । प्रहरीको प्रतिवेदनमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको उल्लेख छ’, अर्थमन्त्री पुनले भन्नुभयो ।