एकीकृत समाजवादीले दशौं महाधिवेशनमा नेपालमै बनेकाे विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने

 नेकपा (एकीकृत समाजवादी) ले आफ्नो दशौं महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । पार्टीले आफ्नो नेतृत्व चयन गर्न राम लक्ष्मण इनोभेसनले विकास गरेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको हो । 

२१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्न भोटिङ मसिन प्रयोग गर्न लागिएको पार्टीले जनाएको छ ।

यसका लागि ५० विद्युतीय भोटिङ मसिन प्रयोगमा आउने राम लक्ष्मण इनोभेसनका सहसंस्थापक लक्ष्मण रिजालले बताए । उनका अनुसार उम्मेदवारको सङ्ख्या अलि बढी भएकाले मत हाल्ने समय केही लामो हुनेछ । तर मतदान सम्पन्न भएको केही घण्टामै नतिजा निस्कने छ । 

हाल मतदानस्थलमा कुल प्रयोग हुनेबाहेक चार ओटा अतिरिक्त मसिन राखिएको उनले जनाए ।पछिल्लो समय विभिन्न संघसंस्थाले मतदानमा यही कम्पनीले तयार पारेका विद्युतीय भोटिङ मसिन प्रयोग गर्दै आएका छन् ।