चक्रघट्टामा कृषि सेड निर्माणको रकममा अनियमितता प्रकरणमा ३ जना दोषी ठहर

 काठमाडौं १७ असार: भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीबाट गएको बजेट हिनामिना भएको प्रकरणमा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । सोमबार विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । 

केन्द्रबाट गएको बजेट चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरुले हिनामिना गरेको पुष्टि भएपछि सजाय सुनाइएको छ । यद्यपि यस मुद्दामा सबै कर्मचारीहरुले सफाइ पाएका छन् । 

विशेषले उक्त सहकारी संस्थाका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवलाई सजाय सुनाएको हो । उनीहरुलाई जनही ३ लाख २५ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ भने बिगो रकम असुलउपर समेत हुने फैसलामा उल्लेख छ । 

पशुपञ्छी व्यवसाय प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को पूर्ण पालना नगरी गलत प्रतिवेदनका आधारमा झन्डै पौने १० लाख रुपैयाँ केन्द्रबाट भुक्तानी लिएका थिए । कृषि निर्माण कार्य सम्पन्न भइसकेको तथा झुठा कार्यसम्पन्न प्रतिवेदन तयार गरेर सम्झौताविपरीत कार्य गरेको ठहरसहित उनीहरुलाई सजाय सुनाइएको हो । 

आर्थिक वर्ष ०७५÷७६ मा कृषि सेड निर्माणका लागि उक्त सहकारीलाई रकम उपलब्ध गराइएको थियो । हुँदै नभएको कामको समेत भुक्तानी भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोमा गत १२ चैतमा मुद्दा दायर भएको थियो । 

प्रदेश सरकारबाट आएको रकम हिनामिना भएपछि पशुसेवा विज्ञ केन्द्रका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र चक्रघट्टा–९ का वडाध्यक्ष रामईश्वर ठाकुर लोहारलाई समेत प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो । यद्यपि उनीहरु तीनै जनाले सफाइ पाएका छन् ।