कांग्रेस नेता देव एमाले प्रवेश

 काठमाडौँ, १७ असार : पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ ।
    
एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेता देवसहित विभिन्न पार्टी परित्याग गरेका नेतालाई पार्टीमा प्रवेश गराउनुभएको हो । नेता देव पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीका साथै पूर्वसांसद हुनुहुन्छ । केही समय एमालेमै रहनुभएका नेता देव नेपाली कांग्रेसअघि उहाँ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा आवद्ध हुनुहुन्थ्यो । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत सहभागी हुनुहुन्थ्यो ।