एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौँ, १७ असार : मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७ स्थित छहारी भवनमा सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रियासँग सम्बन्धित ‘शान्ति ग्यालरी’ स्थापना गरेको छ ।

आज कलात्मक सजावटसहितको ग्यालरी उद्घाटन गर्नुका साथै सोही स्थलमा ‘आराध्याती’ शालिकको अनावरण गरिएको छ । शान्ति ग्यालरीमा नेपालमा भएको सशस्त्र युद्ध र त्यसबाट नेपाली समाजमा परेको प्रभाव, एकल महिला भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेका सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगका गतिविधिका तस्बिर  राखिएका छन् । 

उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपाली समाजमा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हुने हिंसा र एकल भएपछि भोग्नुपर्ने पीडालाई ग्यालरीले उजागर गरेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमान्को मृत्युपछि समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्नसक्ने महिलाको योगदानलाई अभिलेखीकरण गरिएको बताउनुभयो ।

समूहका अध्यक्ष कविता पाँडेले आफूहरु कम्बोडियाको भ्रमणमा जाँदा त्यहाँ शान्ति ग्यालरीको अवलोकन गरेपछि नेपालमा पनि यस्तो बनाउनुपर्छ भन्ने सोच आएको बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एकल महिला समूहले महिला सशक्तीकरणका लागि गरिरहेका अभियान प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
 
त्यस अवसरमा लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनका प्रमुख प्याट्रियाले नेपाली एकल महिला समूहले एकजुट हुनुमा नै शक्ति छ भन्ने उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभयो ।