कृषकलाई १४ हजार पाँच सयभन्दा बढी फलफूलका बिरुवा अनुदान सहयोग

काठमाडौँ, १७ असार :  पोखरा महानगरपालिकाले कृषकलाई १४ हजार पाँच सय ५० फलफूलका बिरुवा वितरण गरेको छ ।

महानगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुसार तीन सय ७८ कृषक तथा कृषक समूहलाई बिरुवा वितरण गरिएका हुन् ।

महानगरपालिकाले एक÷एक हजार सङ्ख्यामा आँप, लिची, एबोकाडोका बिरुवा वितरण गरेको छ । यस्तै कागतीका एक हजार पाँच सय बिजु र चार हजार कलमी बिरुवा तथा सुन्तलाका एक हजार पाँच सय बिजु र तीन हजार कलमी बिरुवा वितरण गरिएको छ । यस्तै, एक हजार ५० अम्बा र पाँच सय मेकाडामिया नटका रिुवा वितरण गरिएको कडरियाले जानकारी दिनुुभयो । 

कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति बिरुवा आँँप रु ५०, लिची रु ४०, अम्बा रु २५, कागती बिजु रु ३०, कलमी रु ६०, सुन्तला बिजु रु ३०, कलमी रु ६०, मेकाडामिया नट रु ५०, एबोकाडो रु ५० मा उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

वितरण गरिएका फलफूलका बिरुवाको तीन गुणा बढी माग भए पनि सीमित साधनस्रोतका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको महानगरले जनाएको छ ।