कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अख्तियारबाट ‘क्लिनचिट’ पाइसकेँ

नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्मासँग सरकारी वकिल कार्यालयले बयान लिएको छ। नक्कली प्रमाणपत्रबारे उनीमाथि लागेको आरोपबारे सांसद शर्माले आइतबार सरकारी वकिलको कार्यालय पुगेर बयान दिएका हुन्।

सीआईबी स्रोतले दिएको जानकारी अनुसार, उनले बयानका क्रममा आफूले प्रमाणपत्रमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगबाट ‘क्लिनचिट’ पाइसकेको दाबी गरेका छन्। 

साथै, यस प्रकरणमा सरकारी निकायले आफूमाथि नियोजित रुपमा अनावश्यक दुःख दिएको उनले बयानका क्रममा भनेका छन्।

‘मैले पहिला नै अख्तियारले पनि क्लिन चिट पाइसकेँ। मलाई सरकारका निकायले दुःखमात्रै दिएको हो,’ सीआईबी स्रोतले नेपालखबरसँग भन्यो। 

साथै, अख्तियारबाट उनीबारे यसअघि भएका छानबिनका कागजपत्रहरू पनि झिकाउने निर्णय भएको छ। 

शर्माले एमबीबीएस पढ्न चीनको विद्यालयमा पेश गरेको प्रविणतम प्रमाण पत्र तह (आईएससी) को प्रमाणपत्र नै नक्कली रहेको भन्दै सीआईबीले अघिल्लो साल साउन २५ गते उनलाई पक्राउ गरेको थियो। 

उनको प्रमाणपत्र शंकास्पद रहेको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको थियो। 

शर्मासहितका केही चिकित्सकले भारतीय नक्कली प्रमाण पत्रहरू पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता गरिएको भन्दै उनलाई पक्राउ गरिएको थियो। 

पक्राउ परेको भोलिपल्टै शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो।

कुनै पनि मुद्दामा प्रतिवादीले भागेर जाने तथा प्रमाण लोप गर्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्ने जनाउँदै अदालतले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।