वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

अवैध क्रसरलाई फेरि चलाउन दिने तयारीमा सरकार

नवीकरण नभएका अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने हो। तर, सरकार पटके निर्णयका भरमा चल्न दिइरहेको छ।

गत वर्ष अन्तिम पटकका लागि भनेर एक वर्षको समय दिएर नवीकरण नभएका क्रसरलाई चल्न दिने निर्णय गरिएको थियो। सुरुमा गृह मन्त्रालयले  दर्ता नभएका र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। पछि व्यवसायी र सरकारबीच विवाद चर्कियो। अन्तत: सरकारले एक वर्षको समयसीमा दिएर क्रसर चलाउन दिएको थियो। त्यतिखेर हालसम्म कर नतिरी सञ्चालन भइरहेका क्रसर तथा खानी उद्योगलाई आगामी असारसम्म कर तिर्ने सर्तमा मात्र खोल्न एवं सञ्चालन अनुमति दिइएको भनिएको थियो। त्यो समयसीमा असारमा सकिसकेको छ। साउनदेखि अवैध क्रसर उद्योग स्वतः बन्द हुनुपर्ने हो।

https://barnanmedia.com/news/detail/181210/

ओली–देउवा भेटले राजनीतिमा तरंग, बन्ला त कांग्रेस–एमाले समीकरण?

नेपाली कांग्रेस र नेकपा एमाले संवादमा जोडिएपछि मुलुकको सत्ताराजनीतिमा फेरि एकपटक तरंग पैदा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार पत्नी आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास बालकोट पुगेर लामो कुराकानी गरेपछि अनेकन अड्कलबाजी सुरु भएका छन् र लगत्तै कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि आशंकामा थप मलपल पुगिरहेको छ ।

त्यसो त कांग्रेस र एमाले मिलाउने प्रयास आज सुरु भएको होइन । २०७९ को आम निर्वाचन सम्पन्न भएलगत्तै सुरु भएको हो । अरु ससाना दलहरु जुटाएर सरकार बनाउन कठिन रहेको र सरकार पनि अस्थिर बन्न सक्ने भएकाले दुई ठूला दल मिलेर राजनीतिक स्थायित्वतर्फ मुलुकलाई लैजानुपर्ने धारणा त्यसबेलैदेखि सुरु भएको थियो । 

https://barnanmedia.com/news/detail/181211/

सर्वाेच्चमा पांचबर्ष कम उमेरका सबै मुद्दा स्थगित

सर्वाेच्च अदालतमा आइतबार पांच बर्ष कम उमेरका सबै मुद्दा स्थगित भएका छन् । 

पांचबर्ष नाघेका अभियानका मुद्दामा सर्वाेच्च अदालतले फैसला अभियान चलाएकाले त्योभन्दा कम उमेरका मुद्दा भने स्थगित भएका हुन । आइतबार अभियानका मुद्दा र रिटमा मात्रै सुनुवाई गरिएको छ ।

आइतबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश नहकुल सुवेदीको इजलासमा मिलापत्र तथा विविधका छोटकरी मुद्दा, तथा परमादेश र रिट निवेदनहरुको सुनुवाई भयो । त्यसबाहेक भने न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा अभियान फांटका पांचबर्ष नाघेका बैंकिङ कसूर र भ्रष्टाचारका मुद्दाको सुनवाई भयो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र कुमार चुडालको इजलासमा रिट निवेदन तथा अवहेलनाका निवेदनहरुको सुनुवाई भयो । 

https://barnanmedia.com/news/detail/181219/

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : दैनिक पत्रिकाका प्रकाशक र ठेकेदार मन्सुर दोषी ठहर

 धनुषाको शहीदनगर नगरपालिकामा स्यानिटरी प्याड खरिदमा भएको भ्रष्टाचार मुद्दामा एक जना दोषी ठहर भएका छन् भने बाँकी आठ जनाले सफाइ पाएका छन् । गत २० फागुनमा दायर मुद्दमाथि सोमबार विशेष अदालतले फैसला दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७७–७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना नभएको भन्दै उजुरी परेको थियो । सशर्त अनुदानतर्फको स्यानिटरी प्याड खरिदका लागि १९ फागुन ०७७ मा रेजा ट्रेडिङ प्रा.लि.सँग नगरपालिकाले सम्झौता गरेको थियो । 

https://barnanmedia.com/news/detail/181304/

बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय

बालयौन दुरुपयोगमा दोषी ठहर भएका तपस्वीका रूपमा चर्चित रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले सोमबार सजाय निर्धारण गरेको हो। “इजलासले १० वर्ष कैद सजाय तोकेको छ,” जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले  भने।यससँगै बम्जनले पीडितलाई क्षतिपूर्ति पनि दिनुपर्ने भएको छ। अदालतले बम्जनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार अधिकारीले बताए।

बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क१)की छोरी वर्ष १८ की परिवर्तित (क)ले जाहेरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बम्जन विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। उनी विरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो।

https://barnanmedia.com/news/detail/181306/

राहुलले हिन्दूहरुलाई हिंश्रक भनेपछि मोदी आक्राेशित

 भारतीय प्रतिपक्ष दलका नेता राहुल गान्धीले नरेन्द्र मोदी सरकारमाथि संविधानको बहानामा आक्रमण गरेपछि मोदीले जुरुक्क उठेर विरोध गरेका छन् ।  

राहुलले पूरा हिन्दू समाजलाई हिंश्रक भनेसँगै मोदीले विरोध गर्दै पूरै हिन्दू समाजलाई हिंश्रक भन्नु गम्भीर कुरा भएको बताए । 

राहुलले भने, ‘मोदीजीले एक दिन एक भाषणमा भन्नुभएको थियो कि भारतले कसैलाई पनि हमला गरेको छैन । यसको कारण हो हिन्दूस्तान अहिंसाको देश हो । यो डराउँदैन । हाम्रा महापुरुषहरुले सन्देश दिएका छन् – नडराउ, अरुलाई नडराउनु । शिवजी भन्नुहुन्छ –नडराउ, अरुलाई नडराउनु र त्रिशूललाई जमीनमा गाड्नु हुन्छ । दोस्रोतर्फ जसले आफूले आफूलाई हिन्दू भन्नुहुन्छ उनीहरु २४ ऐ घण्टा हिंसा–हिंसा–हिंसा...–घृष्णा–घृष्णा–घृणा....तपाईंहरु हिन्दू हुँदै होइन । हिन्दू धर्ममा स्पष्ट लेखिएको छ सत्यको साथ दिनुपर्छ ।’

मधेसका चर्चित नेता जितेन्द्र देव कांग्रेस परित्याग गरी एमालेमै फर्के

 पूर्वमन्त्री एवं मधेसका चर्चित नेता जितेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमै फर्कनु भएको छ । पूर्वमन्त्री एवं राष्ट्रियसभाका सांसद देवलाई च्यासस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताले पार्टीमा स्वागत गर्नुभएको हो ।

कार्यक्रममा पूर्वमन्त्री देवसँगै रामप्रीत राम, इकबाल अहमद साहलगायतका नेताहरु एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई अध्यक्ष ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभयो भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेताहरुले पनि स्वागत गर्नुभयो ।विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा फेडरेशनबाट राजनीति सुरु गर्नुभएका जितेन्द्र देव नेकपा एमालेमा लामो समय केन्द्रीय नेतृत्वमा रहनुभएको थियो । उहाँ २०५४ मा वामदेव गौतम गृहमन्त्री भएका बेला उच्चस्तरीय नागरिकता सुझाव कार्यदलको संयोजक हुनुहुन्थ्यो ।

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ । 

सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन् ।उहाँको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीर र गाजाको एक चिकित्सा स्रोतले सामाजिक सञ्जालमा गरेका छन् । सात महिनाभन्दा बढी हिरासतबाट मुक्त भएपछि उहाँले सोमबार आफूलाई इजरायलले ‘यातना’ दिएको बताउनुभयो ।  

एक इजरायली मन्त्री र घेराबन्दी गरिएको क्षेत्रका चिकित्सा स्रोतका अनुसार अल–शिफाका अस्पताल निर्देशक साल्मिया ५० भन्दा बढी प्यालेस्टिनीमध्ये रिहा भई उपचारका लागि गाजा फर्किएका हुन् । निर्देशक साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको बताउँदै यातनाले गर्दा आफ्नो औँला भाँचिएको जानकारी गराउनुभयो । 

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’  रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।
 

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।

यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभएको छ ।सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताउनुभयो । उहाँले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिनुभयो ।

सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी

वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी भएको छ। बैंकको शाखा कार्यालयबाट निस्केको धुवाँको मुस्लो बढिरहेको छ। आगलागी स्थलमा प्रहरी पुगेको छ भने बारुण यन्त्र आउने क्रममा रहेको छ। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ । 

इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो ।

ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ ले विज्ञान, उद्योग, नागरिक समाज, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन र शिक्षाविद्लगायत विभिन्न क्षेत्रका हितग्राहीका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ ।

आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट

पाली कांग्रेससँग नयाँ सत्ता समीकरणको कसरत चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे अध्यक्ष ओलीले बालकोट बोलाएको उच्च स्रोतले जानकारी दियो।

एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको स्रोतले जानकारी दियो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो। 

फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ

 जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न रौतहटको चन्द्रपुर नगरपालिका–१२ की दिपा थापालाई पक्राउ गरेको हो।  पाँच दिनअघि पक्राउ परेकी दिपाले फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको उजुरीका आधारमा पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए। उनका अनुसार दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। 

एकमात्र टेस्टमा दक्षिण अफ्रिकालाई १० विकेटले पराजित गर्दै भारतले रच्यो इतिहास

भारतीय महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकालाई एकमात्र टेस्ट खेलमा १० विकेटले पराजित गरेको छ ।

दुई देशबीचको एकमात्र टेस्ट म्याच चेन्नईको एम चिदम्बरम स्टेडियममा भएको थियो । यस टेस्ट म्याचमा कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् ।

पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६०३ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । पहिलो इनिङ्सको जवाफमा दक्षिण अफ्रिकी टोलीले २६६ रन मात्रै बनाउन सकेको थियो । भारतले दक्षिण अफ्रिकालाई फलोअन खेल्न बोलाएको थियो ।

खुट्टाले लेखेर एसइई उत्तीर्ण

अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण हुनुभएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भन्नुभयो, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।”

मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिनुभएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण हुनुभएको छ । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु ।” पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उहाँको छ । 

पश्चिम बंगालमा युवा जोडीलाई सार्वजनिक रूपमा कुटपिट

पश्चिम बंगालको उत्तरी दिनाजपुर जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा एक युवा जोडीलाई नराम्ररी कुटेको देख्न सकिन्छ ।

महिला र पुरुषबीच विवाहबाह्य सम्बन्ध रहेको र सोही कारण गाउँमा सभा बोलाएर सार्वजनिक रुपमा यस्तो सजाय दिइएको आरोप छ । आइतबार भिडियो भाइरल भएपछि भाजपा सहित बंगालका सबै विपक्षी दलहरूले टीएमसीमाथि हमला गरेका छन्।

मिडिया रिपोर्टका अनुसार प्रहरीले यस मामिलामा ताजमुल उर्फ ​​जेसीबी नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। भिडियोमा जोडीलाई पिट्ने व्यक्ति जेसीबी हो, जो चोपडा विधानसभामा स्थानीय टीएमसी कार्यकर्ता हुन्। यद्यपि, टीएमसीले तजमुलको पार्टीसँग कुनै पनि प्रकारको सम्बन्ध नभएको अस्वीकार गरेको छ। स्थानीय विधायक हमिदुल रहमानको बयानले यस विषयमा नयाँ विवाद सिर्जना गरेको छ ।

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै हुनुहुन्छ । रोपाइँमा व्यस्त भए पनि उहाँको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ । 

घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्री गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रु २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।

म्याग्दीमा टिम्मुरखेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुरखेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

दाङमा ११ महिनामा ९२ जनाको मृत्यु, सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरी सक्रिय

 जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो । 

स्थानीय रुटमा सञ्चालित सवारीसाधनले नियम अनुसार सबै यात्रुले देख्ने गरी सवारी भाडादर टाँस गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि डस्टबिन (फोहर सङ्कलन गर्ने) राख्नुपर्ने र आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि लागू हुन नसकेको गुनासो आएसँगै यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलाई निगरानीमा राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले बताउनुभयो । ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइएको उहाँले जानकारी दिनुभयो ।​​​​​​​