मधेसका चर्चित नेता जितेन्द्र देव कांग्रेस परित्याग गरी एमालेमै फर्के

 पूर्वमन्त्री एवं मधेसका चर्चित नेता जितेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमै फर्कनु भएको छ । पूर्वमन्त्री एवं राष्ट्रियसभाका सांसद देवलाई च्यासस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताले पार्टीमा स्वागत गर्नुभएको हो ।

कार्यक्रममा पूर्वमन्त्री देवसँगै रामप्रीत राम, इकबाल अहमद साहलगायतका नेताहरु एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई अध्यक्ष ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभयो भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेताहरुले पनि स्वागत गर्नुभयो ।विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा फेडरेशनबाट राजनीति सुरु गर्नुभएका जितेन्द्र देव नेकपा एमालेमा लामो समय केन्द्रीय नेतृत्वमा रहनुभएको थियो । उहाँ २०५४ मा वामदेव गौतम गृहमन्त्री भएका बेला उच्चस्तरीय नागरिकता सुझाव कार्यदलको संयोजक हुनुहुन्थ्यो ।

एमाले विभाजनपछि नेकपा बामदेवको उक्साहटमा मालेतिर लाग्नुभएका देव मधेश पुनः जन आन्दोलनपछि मधेशी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्री बन्नुभएको थियो । उहाँ संविधानसभाको दोस्रो कार्यकाल सकिएपछि नेपाली कांग्रेसमा प्रवेश गरेर ६ वर्ष राष्ट्रियसभा सदस्य हुनुुभयो । करिब १७ वर्षपछि देव पुनः एमालेमा फर्किनु भएको हो । उहाँ एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) मा केपी ओलीपछि अध्यक्ष बन्नुभएका केशव स्थापितको टीममा उपाध्यक्ष हुनुहुन्थ्यो ।

एमाले पंक्तिमा बौद्धिक युवाको रुपमा परिचय बनाउनु भएका देवलाई पार्टीले भूमिकाको कदर गर्दै नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष बनाएको थियो । ०५४ मा नेपालगञ्जमा आयोजित छैटौं राष्ट्रिय महाधिवेशनबाट देव केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको थियो ।

एमाले प्रवेश गरेपछि देवले पुराना वामपन्थी दिनहरुको सम्झना गर्नुभयो । उहाँले अनेक घेरावन्दीका बीच पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएको भन्दै उनले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभयो । पार्टी छाडेर अन्यत्र गएकोमा नेता देवले आत्मालोचना समेत गर्नुभएको छ ।