अभिनेता प्रभासको फिल्म कल्कि ५०० करोड क्लबमा

यतिबेला भारतमा मात्रै नभएर सीमापार पनि दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्कि २८९८ एडीले राम्रो व्यापार गरिरहेको छ । फिल्मले सबैतिरबाट टन्नै माया पाइरहेको छ । जुन २७ मा रिलिज भएको यो फिल्मले दिनहुँ नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । विश्वभरमा फिल्मले ५०० करोड भारु कमाएको छ । कमाइको हिसाबले कल्की उत्तरी अमेरिकामा सर्वाधिक कमाउने १० भारतीय चलचित्रको सूचीमा पनि परेको छ ।

प्रभास र दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हासन र दिशा पटानी अभिनित फिल्मले चौथो दिन ठुलो उपलब्धि हासिल गरेको छ । नाग अश्विनद्वारा निर्देशित यो फिल्म प्रतिष्ठित ५०० करोड क्लबमा पुगेको छ । फिल्मका निर्माताले आइतबार राति माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसको आधिकारिक घोषणा गरेका हुन् ।

कमाइको हिसाबले कल्कि २८९८ एडी सबैभन्दा धेरै कमाउने पाँचौँ तेलुगु फिल्म बनेको छ । यसअघि बाहुबली द कन्क्लुजन, आरआरआर, सालार पार्ट १ र बाहुबली द बिगिनिङले यो उपलब्धि हासिल गरेका थिए । सूचीमा प्रभासका चार ओटा फिल्म छन् । कल्की फिल्म पहिलो एक हप्तामै एक हजार करोड क्लबमा सामेल हुने अनुमान गरिएको छ । यो फिल्म १५ सय करोड क्लबमा पर्छ कि पर्दैन भन्ने चाँहि सोमवारको व्यापारमा भर पर्ने बताइएको छ ।

उत्तर अमेरिकाको यस फिल्मप्रति मानिसहरूमा व्यापक क्रेज देखिएको छ । पछिल्लो अपडेट अनुसार फिल्मले यस क्षेत्रमा एक करोड डलर कलेक्सन गरेको छ । योसँगै कल्की उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा आठौँ स्थानमा उक्लिएको छ । लाइफ टाइम कमाइमा फिल्म यस क्षेत्रमा शीर्ष तीनमा पुग्न सक्ने आशा गरिएको छ ।