म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला : प्रशिक्षक राहुल द्रविड

भारतीय क्रिकेटका मुख्य प्रशिक्षक राहुल द्रविडले आफू बेरोजगार भएको भन्दै काम मागेका छन्।

क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा कार्यकाल सकिए पछि उनले कसैसँग काम भए आफूलाई दिन आग्रह गरेका हुन्।टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधि जितेसँगै आफ्नो राम्रो बिदाई भएको भन्दै उनले खुशी पनि व्यक्त गरेका छन्।भारतले १७ वर्ष पछि टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।

विश्वकप सकिएसँगै राहुलले पत्रकारहरूसँग हास्यास्पद प्रतिक्रिया दिँदै आफूलाई अब कामको खोजी रहेको बताए।उनले भने, ‘अर्को सातादेखि मेरो जीवन सामान्य बन्ने छ। मसँग कुनै काम हुने छैन। र, म बेरोजगार रहने छु। त्यसैले कसैसँग भए मलाई काम दिनुहोला।’

राहुल सन् २०२१ को टी–२० विश्वकप पछि भारतीय क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। उनको नेतृत्त्वमा भारतले ३ वटा आईसिसी टुर्नामेन्टको फाइनल खेल्दा १ मा जितेको छ।

भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा अहिले गौतम गम्भीरको नाम निकै चर्चामा रहेको छ।

राहुलको कार्यकाल विश्वकप अघि नै सकिएपनि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई विश्वकपसम्मको लागि जिम्मेवारी दिएको थियो।