धनुषामा जन्ती सवार बस दुर्घटना हुदा १३ जना घाइते

सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।

गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको हो,’ जिप्रका धनुषाका डीएसपी रन्जन अबाले भने, ‘दुर्घटनामा १३ जना घाइते भएका छन्। एक जनालाई अलिक बढी चोट लागे पनि १२ जनाको अवस्था सामान्य छ।’

सर्लाहीको कुन ठाउँबाट त्यो बस सिराहातर्फ जाँदै थियो, नखुलेको उनले बताए। 

‘बसमा बेहुला सवार थिए- थिएनन्, त्यो पनि खुलेको छैन,’ डीएसपी अबाले भने, ‘घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ। हामी थप अनुसन्धानको क्रममा छौँ।’

दुर्घटना पश्चात बसका चालक फरार छन्। उनको खोजी भइरहेको डीएसपी अबाले बताए।