ओली–देउवा भेटले राजनीतिमा तरंग, बन्ला त कांग्रेस–एमाले समीकरण?

नेपाली कांग्रेस र नेकपा एमाले संवादमा जोडिएपछि मुलुकको सत्ताराजनीतिमा फेरि एकपटक तरंग पैदा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार पत्नी आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास बालकोट पुगेर लामो कुराकानी गरेपछि अनेकन अड्कलबाजी सुरु भएका छन् र लगत्तै कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि आशंकामा थप मलपल पुगिरहेको छ ।

त्यसो त कांग्रेस र एमाले मिलाउने प्रयास आज सुरु भएको होइन । २०७९ को आम निर्वाचन सम्पन्न भएलगत्तै सुरु भएको हो । अरु ससाना दलहरु जुटाएर सरकार बनाउन कठिन रहेको र सरकार पनि अस्थिर बन्न सक्ने भएकाले दुई ठूला दल मिलेर राजनीतिक स्थायित्वतर्फ मुलुकलाई लैजानुपर्ने धारणा त्यसबेलैदेखि सुरु भएको थियो । 

तर त्यतिखेर कांग्रेसको एउटा खेमा तत्कालीन माओवादी सम्मिलित गठबन्धनको विकल्प खोज्न नहुने अडानमा रह्यो । एमालेले कांग्रेसलाई सरकारको नेतृत्व लिन र साझेदारीमा देश चलाउन गरेको प्रस्तावको समेत देउवाले बेवास्ता गरे । पछि ओलीले प्रचण्डलाई बोलाएर प्रधानमन्त्रीमा समर्थन दिएर शीतलनिवास पठाए । देउवा हेरेको हेर्‍यै भए ।

त्यसपछि प्रचण्डले एकै वर्षको बीचमा तीनपटक साझेदार फेरे । कहिले एमालेसँग त कहिले कांग्रेससँग । जम्मा ३२ सिटको पार्टीको नेताले बाँकी २ सय ४० सिटको संसदलाई आफ्नो निजी एवं परिवारको स्वार्थमा घुमाउन थाले । एउटासँग मिलेर अर्कोलाई हियाउने र धम्क्याउने । उथलपुथल नगरी बस्नै नसक्ने भनेर आफ्नै राजनीतिक अनैतिकतामा हर्षबढाइँ गर्ने । परिवारका सदस्यबाहेक कसैलाई नगन्ने स्वभाव प्रचण्डमा देखियो । यसै क्रियाकलापबाट आजित भइसकेका छन् देउवा र ओली । 

कांग्रेसका नेता रमेश लेखकले त संसदमै भनेका थिए, तपाईंले धोका दिएकाहरु एक दिन एक बठाउँमा उभिनेछन् । त्यो दिन तपाईँको के हालत हुनेछ ? म पनि हेर्नेछु ।पछिल्लो समय साना दलको अनावश्यक बार्गेनिङ, स्वतन्त्रका नाममा बढ्दो अराजकता र नागरिकमा बढ्दो निराशाबीच कसरी मिलेर जान सकिन्छ भनेर संवाद सुरू भएको दुवैतर्फका नेताहरूले बताएका छन् । संविधान संशोधनदेखि संक्रमणकालीन न्याय र केही भूराजनीतिक प्रसंगहरूमा देउवा–ओलीबीच गम्भीर छलफल एवं समझदारी भएको बुझिएको छ ।

नागरिकमा व्याप्त निराशा चिरेर उत्साह ल्याउनुपर्ने र संविधानमा पुनरवलोकन गर्नुपर्ने भएकाले दुई प्रमुख दलबीच कुराकानी भएको तर यो सुरुवात मात्र भएकाले परिणाम देखिन अझै केही समय लाग्ने नेताहरुको भनाइ छ । तर एमाले अध्यक्ष ओलीको काम गर्ने शैली भने अनौठो छ । पछिल्ला केही घटनाहरुमा उनले सबैलाई आश्चर्यमा पार्ने गरी एकैपटक परिणाम देखाउने गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा होस् वा कांग्रेसलाई सत्ताविमुख बनाउँदा उनले यसैगरी कसैलाई सुइँकोसम्म नदिएर एकैपटक नतिजा देखाइदिएका थिए । त्यसैले अहिले पनि कांग्रेससँग पृष्ठभूमिमा धेरै कुरामा समझदारी गरिसकेर शनिबारको दही–च्युरा भेट आयोजना गरेको पनि हुन सक्ने बुझिन्छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरुमा प्रचण्ड र ओलीबीच झण्डै एक घण्टा छलफल भएपछि फेरि रविसहित थप एक घण्टा छलफल भएको थियो ।

उक्त छलफलपछिका दृश्यले पनि धेरै कुरा भनिरहेको थियो । जस्तो कि बैठकबाट निस्केर रवि र प्रचण्ड माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको महाधिवेशनमा शुभकामना दिन कमलादी पुगेका थिए भने एमाले अध्यक्ष ओली उक्त कार्यक्रममा गएनन् । जबकि एकीकृत समाजवादी पनि सत्ता गठबन्धनकै एक घटक हो ।  

बरु सिंहदरबारमा निकै प्रफुल्ल ‘मुड’मा देखिएका ओलीले सञ्चारकर्मीहरूसँग यत्ति मात्र भने, ‘भेटघाट भइराख्या’छ। भेटघाटपछि भेटघाट। भेटघाटको सिलसिलासँगै भेटघाट।’ ओलीको यस खालको मुखमुद्राले निकै अर्थपूर्ण कुरा अभिव्यक्त गरिरहेको थियो । जसका परिणामहरु आगामी केही दिनमै देखिन सक्नेछन् ।