युरो कप २०२४ : स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको व्यक्तिगत तेस्रो गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए ।

गोल खाए पश्चात इङ्ल्यान्डले बल पोसेसन राखेपनि स्पष्ट मौका सिर्जना गर्न सकेको थिएन । पहिलो खेलमा एक गोल गरेपछि प्रतियोगिताका अवधिभर गोल गर्न संघर्षरत इङ्ल्यान्डले नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो ।

इन्ज्युरी समयको पाँचौं मिनेट एक लामो थ्रो-इनमा मार्क गेहीको फ्लिक-अन हेडरमा उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै जुड बेलिङ्घमले खेल अतिरिक्त समयमा धकेलेका थिए ।अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्यान्डलाई अग्रता दिलाए । इभान टोनीको पासमा सबैभन्दा अघि पुग्दै केनले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल जितका लागि पर्याप्त बन्यो ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध खेल्नेछ । स्विट्जरल्यान्डले इटाली माथि जित हात पार्दै अन्तिम आठमा स्थान बनाएको हो ।

प्रिक्वाटरफाइनल अन्तर्गत स्पेन र जर्जिया राती १२:४५ बजे खेल्दैछन् ।