रास्वपामा राजदूत बन्न २४० जनाकाे आवेदन, २ जना छनोट गर्न जिम्मा स्वर्णिम र खनाललाई

राजदूत बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्।

रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको र तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको समितिका सदस्य शिशिर खनालले जानकारी दिए।

सभापति लामिछानेले ती ७ जनामध्येबाट पनि २ जना छनोट गर्न उपाध्यक्ष स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनाललाई नै जिम्मा दिएका छन्।  खनालका अनुसार नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति लामिछानेलाई बुझाइएको थियो। 

अन्तिम सूचीमा रहेका व्यक्तिवहरूसँग आवश्यक छलफल गरी दुई जनाको नाम पेस गर्न पार्टी सभापति लामिछानेले वाग्ले र आफूलाई जिम्मा दिएको खनालले बताए। यस क्रममा संयुक्त राष्ट्र संघका लागि पूर्वस्थायी प्रतिनिधि जयराज आचार्यसँग पनि आवश्यक परामर्श गरिने उनको भनाइ छ।

रास्वपाले विभिन्न ७ मापदण्ड तय गरी राजदूत बन्न इच्छुकलाई आवेदन दिन भनेको थियो।

सरकारले गत असार ७ गते ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ। राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।