चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे

 गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेश सरकारसँग पर्याप्त बजेट नभएकोले पैसा नमाग्न आग्रह गरेका छन् । सांसदहरुले मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफल गर्दै बजेट कनिका छरेझैं वितरण गरिएको टिप्पणी गरेका थिए ।

त्यसको जवाफमा मनाङेले भने–  ‘जतिबेला पनि कनिका बजेट, बाटो जस्ता कुरा सुनिन्छ । मलाई पनि कनिका चामल मन पर्दैन । अरुलाई पनि कनिका खाउ भन्न सक्दिनँ । तर पैसा नै छैन भने चामल कसरी किन्ने ? कनिकामै गुजारा चलाउनुपर्यो । अहिले हामीसँग पैसा छैन । त्यो हिसावले कनिकामै काम चलाउनुस् ।’

उनले सरकरले प्रतिपक्षीलाई पनि ४० प्रतिशत बजेट दिएको दावी गरे । ‘पहिलेका सरकारले ८०–२० (८० प्रतिशत सत्तापक्ष, २० प्रतिशत प्रतिपक्ष) गर्थ्यो । अहिलेको सरकारले ६०–४० गरेको छ,’ उनले अघि भने, ‘जो मन्त्री भयो त्यसैले भएभरको पैसा लगिदिन्छ । तपाईंहरुले सोच्नुपर्ने पैसा सबैलाई बराबर दिएको छ । त्यो पैसा खै त ? आफ्नो संसदीय दलको नेतालाई सोध्नुस् ।’ मनाङेले बजेट निर्माणमा सँधै कर्मचारी हावी हुँदा मन्त्री र सांसदले प्रश्न खेप्नुपरेको बताएका छन् । 

‘कर्मचारीले पव्लिक राइट्समा फेस गरेकै छैन । फेस हामीले गर्छौं । यस्तो लागिरहेको छ कि हामीले अब छोराछोरीलाई राजनीतिमा ल्याउने होइन, लोकसेवा पढाउनुपर्ने रहेछ । लोकसेवाबाट आयो भने घर बसेरै बजेट हाल्न पाउने रहेछ,’ मनाङेले भने, ‘हामी एकअर्कामा लडाईं गर्दै यो परेन भन्दै बसेका छौँ । उहाँहरुले पिच हालिसक्यो, हामीलाई थाहा छैन । हामी गोरेटोमै बसिरहेका छौँ ।’ सांसदहरुलाई युट्युव र किताब पढेर तर्क नगर्न र प्रदेशको धरातल अनुसार छलफल गर्न उनले सुझाव दिए ।