काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय रहेको समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत जेठ २४ गते टोखामा भएको चोरीको घटनाबारे अनुसन्धान गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार टोखा नगरपालिका–८ स्थित रामबहादुर थापाको साढे २ तले घरमा कोही नभएको अवस्थामा दिउँसै चोरी भएको थियो । घरको मूल ढोका नै फोडेर चोरले सुनका गहना, नगद, मोबाइल र ल्यापटप गरी करिब २९ लाख ७५ हजार ६७० रुपैयाँ बराबरको चोरी गरेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा चोरीमा ओखलढुङ्गा घर भई मनमैजु बस्ने १९ वर्षीय दीपेश मगर र चोरीको सामान बेचबिखन गर्ने अन्य व्यक्तिलाई पक्राउ गर्न सफल भएको उपरीक्षक आचार्यले जानकारी दिए । सोधपुछका क्रममा मगरले असार १३ गते टोखाकै भण्डारी टोलीमा रहेको रोशनी तामाङको साढे २ तल्ला घरको पहिलो तल्लामा प्रवेश गरी सुनका गहना, मोबाइल र ल्यापटपसमेत गरी १० लाख ८६ हजार ८०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको खुल्न आएको थियो ।