भारतका अलराउन्डर रवीन्द्र जडेजाले गरे टि-२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा

भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि-२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका छन् ।

जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टि–२० मा डेब्यू गरेका थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल भए ।

जडेजाले सन् २०२१ को आइसिसी टि–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिएका थिए । अर्कोतर्फ, ब्याटका साथ उनका उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो । उक्त खेलमा उनले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गरेका थिए ।

अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आइसिसी टि–२० विश्वकपको उपाधि जितेको छ ।

यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आइिसीसी उपाधि जित्दै ११ वर्ष लामो आइसिसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ ।

प्रतियोगिताको अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एक समय ३४÷३ को अवस्थामा विराट (७६) र अक्षर पटेल (३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन) बीचको प्रतिआक्रमणकारी साझेदारीले खेलमा भारतको स्थिति पुनःस्थापित गरेको थियो ।

विराट र शिवम दुबे (१६ बलमा तीन चौका र एक छक्कासहित २७ रन) बीचको ५७ रनको साझेदारीले भारतले २० ओभरमा १७६-७ मा पुर्याएको थियो ।