रास्वपाका मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पहिराे जान सुरु भएकाे छ । रास्वपाका मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको भन्दै ६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागकाे घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा सचिवसहित मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हैटौंडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङ, हेटौंडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बास्तोलाका साथै सिंगो वडा कमिटी, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राई छन् । 

शासकीय स्वरूप परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजीलगायत थुप्रै महत्त्वपूर्ण विषय चुनावी नारामा मात्र सीमित गर्दै त्यसका लागि पार्टी नेतृत्वबाट कुनै प्रयास नभएको उनीहरूले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्नेबाहेक केही गर्न सक्नुभएन ।’

रविकाे बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट भएकाे उनीहरूकाे ठम्याइ छ । विज्ञप्तिमा भनिएको छ, 'कार्यकर्ता, जनतालाई झुक्याउने र भ्रमको खेती गर्न पार्टी केन्द्रीय नेतृत्व माहिर रहेको कुरामा दुई मत भएन ।’