‘नेपाली क्रान्ति मौलिक चरित्रको’

 काठमाडौँ, १६ असार : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताउनुभएको छ । 

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद’ (जबज) विषयक विचार गोष्ठीमा उहाँले विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको बताउनुभयो । 

महासचिव पोखरेलले लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्नु आजको समस्या रहेको उल्लेख गर्नुभयो । सामाजिक सञ्जालबाट लोकप्रियता प्राप्त मान्छेले राजनीतिमा आएर राजनीतिलाई विकल्प दिन्छौँ भन्ने गलत भाष्य स्थापित हुन खोजेको उहाँको भनाइ थियो । 

उहाँले क्रान्तिबाट नभई शान्तिपूर्ण र वैधानिक तरिकाबाट समाजवादमा पुग्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनाँै र जान सक्दैनौँ । जाँदा क्रान्ति र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।”

महासचिव पोखरेलले जबजले देखाएको बाटो पछाडि परेका वर्ग र क्षेत्रका पक्षमा रहेको स्पष्ट पार्नुभयो । जबजले रेखाङ्कन गरेको कुरालाई कम चर्चा गर्दा समाजको रुपान्तरणको प्रक्रिया बन्द भएकोे उहाँको भनाइ छ । उहाँले राजनीतिक परिवर्तनले निर्माण गरेको उत्पादन सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले स्पष्ट दिशानिर्देश गर्ने राजनीतिक दलले मात्र नेपाली समाजको रुपान्तरण गर्ने बताउनुभयो । अहिले बनेका संयुक्त सरकारले पनि समाज रुपान्तरण गर्न नसक्ने उहाँको धारणा छ । मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजले समाजमा रहेका बेथितिलाई समाधान गर्दै समाजलाई समानतामा आधारित बनाउन भूमिका खेल्ने बताउनुभयो । 

अनेमसङ्घका अध्यक्ष टुका हमालले पार्टीको मार्गदर्शन सिद्धान्तको रुपमा रहेको जबजले महिलाका अधिकार सुनिश्चित भएको स्पष्ट पार्नुभयो ।