पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु

काठमाडौँ, १६ असार : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विगत पाँच दिनदेखि परेको वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अधिकारीहरूले आइतबार बताएका छन् ।

हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारीसाधन अलपत्र परेका छन् ।

अलपत्र यात्रुको उद्धार र राहत कार्यका लागि विशेष टोली पठाइएको पिडिएमएले जनाएको छ ।

   पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार देशमा आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेकाले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

  यसअघि देशको पञ्जाब प्रकोप व्यवस्थापन प्राधिकरणले जुलाईमा प्रान्तका केही भागमा भारी मनसुनी वर्षाका कारण शहरी बाढीको चेतावनी दिएको थियो । यस वर्ष ३५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको थियो ।