नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकमाथि भोलि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई अदालत उपस्थित गराइएको छ।

काठमाडौँको बौद्धबाट पक्राउ परेका थापालाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालत उपस्थित गराएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।

उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए।

बादल गृहमन्त्री हुँदा प्रतीक प्रमुख स्वकीय सचिव थिए।