भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध मुद्दा दर्ता

भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके डुडुवा गाउँपालिका वडा नं। ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दा नं.०८०-CR-०१२६ नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, उनले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए । 

पाण्डेले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय गरी घुस रिसवत रकम जफत हुन मागदावी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ।