सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी, कसले कुन मन्त्रालय पाए ?

 सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री सोडारीले हाल कायम रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

जसमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयलाई एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ । माओवादी केन्द्रका अक्कल रावललाई जलस्रोत तथा सहरी विकास र नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा एमालेका वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा एकीकृत समाजवादी का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् ।यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री बन्दा माओवादीका ओमविक्रम सामाजिक विकास मन्त्री बनेका थिए ।

त्यसअघि जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।