तामाकोशीमा हाम फालेर वेपत्ता भएकी महिला भेडपुकी माया तामाङ भएको पुष्टी

काठमाडौँ, १६ असारः आज दिउँसो तामाकोशी नदीमा हाम फालेर वेपत्ता भएकी महिला दोलखाको मेलुङ गाउँपालिकास्थित भेडपुकी ओमा कुमारी तामाङ (माया) भएको पुष्टी भएको छ ।

नदीमा हाम फालेर वेपत्ता भएकी महिला मेलुङ गाउँपालिका वडा नम्वर ४ भेडपुकी अन्दाजी ६५ वर्षीया माया भनिने ओमा कुमारी तामाङ भएको पुष्टी भएको हो । श्रीमान र छोराहरुसँग काठमाडौँको नयाँ बस्ती बस्दै आएकी तामाङ आज काठमाडौँबाट गाउँ जाने भन्दै दोलखा आएकी थिईन् । मेलुङ – ४ भेडपुको शहरे टोल घर भएकी तामाङ गाउँ जान भनेर आज विहान काठमाडौँबाट दोलखाको मेलुङ –३ गाईखुरा हुँदै भेडपु जाने बसमा आएकी थिईन् ।

गाउँका अन्य मान्छेहरुको साथमा आएकी उनी तामाकोशी बजारमा गाडी रोकेको बेला झरेको बताईएको छ । तामाङ सँगै आएका साथीले जाउँ भन्दा काम छ भन्दै तामाकोशी बजारमा बसेको सामाजिक सञ्जालमार्फत उनका आफन्तले खुलाएका छन् ।

बसबाट झरेर तामाकोशी बजारमा केहीबेर बसेकी महिला करिव ३ बजे एक्कासी तामाकोशी पुल नजिकै नदी किनारमा गएर नदीमा हाम फालेको स्थानीयले बताएका छन् । तामाङको मानसिक अवस्था ठिक नभएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनलाई नदीमा पसेलगत्तै बगाएर वेपत्ता बनाएको देखिएको छ ।

महिला नदीमा हामफालेको खवर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरिक्षक शत्रुधनकुमार महतोको कमाण्डमा खोज तथा उद्धारका लागि टोली खटिएको छ । साथै किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी कार्य जारी राखेको दोलखा प्रहरीले जनाएको छ ।