देउवा र ओलीको संवाद सुरु, प्रचण्डको जादु अब के होला ?

केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग जादुयी नम्बर रहेको भन्दै पाँचै वर्ष सरकार चलाउने अवसर पनि पाउन सक्ने भन्दै महत्त्वाकांक्षा सार्वजनिक गरेका थिए । उनको त्यो अभिव्यक्ति पहिलो भने थिएन । एमाले र कांग्रेसलाई पालैपालो खेलाउने र उनीहरुबीच टकराव सिर्जना गरी एकअर्कामा भेटै हुन नसक्ने स्थिति पैदा गरेर उनले आफूलाई सत्तामा निरन्तर राख्दै आएका पनि छन् । जम्मा ३२ सिटको माओवादीले सय सिटनजिकका कांग्रेस र एमालेमाथि शासन गरिरहेको यो दृश्य आफैमा हास्यास्पद र जनमतको अपमानसमेत हो ।      

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भने लामो समयको संवादहीनता तोडिएको छ । भक्तपुरको बालकोटस्थित ओलीको निवासमा उनीहरुबीच तीन घण्टा छलफल भएको बुझिएको छ । सपत्नी बालकोट पुगेका देउवालाई ओलीले दहीचिउराले स्वागत गरेका थिए । अझ प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोलाइएका ओली त्यता जान छाडेर देउवासँग दही–चिउरा खाएर बसे । जुन राजनीतिक रुपमा धेरै अर्थपूर्ण छ ।

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने बहस भइरहेको बेला कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो । भेटमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको स्रोतले बतायो । २०७९ मंसिरको चुनावपछि कांग्रेस र एमालेबीच नयाँ सरकारबारे संवाद भएको थियो । अन्तिम समयमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई दलबीच संवादहीनताको स्थिति सिर्जना भएको थियो ।

२०८० फागुन ३० गते प्रतिनिधिसभामा प्रचण्डले विश्वासको मत लिने क्रममा ओलीले विगतमा संवाद गरौँ भन्दा देउवाले अस्वीकार गरेको बताएका थिए । लगत्तै देउवाले अब कुराकानी गर्ने जवाफ फर्काएका थिए ।गत वैशाखको सुरूमा दुई दलबीच पुनः संवाद भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठको कार्यक्रममा एमालेले देउवालाई महत्त्वका साथ कार्यक्रममा बोलाएको थियो । त्यसबेला पनि केही सांकेतिक कुराकानी भएका थिए । तर त्यसयता उनीहरुबीच सार्थक संवाद हुन सकेको थिएन । सहकारी ठगी र गिरीबन्धु प्रकरणले त यी दुई दलबीच झन् दूरी बढाएको थियो । हालै प्रहरीले भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर केही अभियुक्त पुनः पक्राउको शृंखला चलेपछि देउवालाई बालकोट पुर्‍याएको हो कि भनेर अनुमान पनि गरिएको छ ।

कांग्रेस र एमालेका शीर्ष नेताबीच पुनः संवाद सुरू भएपछि सत्ता राजनीतिमा एक तहको कम्पन पैदा भइसकेको छ । ओली र देउवाबीचको पछिल्लो संवादलाई महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ ।सरकारमा ससाना दलहरुको हालीमुहाली चलेको, प्रदेशहरू पनि निकै अस्थिर बनेको र जनतामा निराशा बढेको अवस्थामा अब दुई ठूला शक्ति मिलेर जानुपर्ने भन्ने एक खालको जबरजस्त धारणा राजनीतिमा छ । राजनीतिक स्थिरताका लागि मिल्ने हो त्यो देशका लागि एक सुखद अध्यायको सुरुवात हुन सक्छ ।

केही दिनअघि पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि कांग्रेस र एमालेबाहेक यो देशमा अर्को कुनै मध्यम कदको शक्ति आवश्यक नरहेको र त्यस्तो भएसम्म देशले राजनीतिक स्थायित्व प्राप्त गर्न नसक्ने भन्दै माओवादी रवैयाले देशले ठूलो मूल्य चुकाउनुपरेको तथ्य औँल्याएकी थिइन् । संयोगवश त्यसको केही दिनमै एमाले र माओवादी नजिकिएका छन् । सम्भवतः यसको परिणाम पनि चाँडै नै देखापर्न सक्नेछ ।