युराे कप २०२४ : जर्मनी युरोको क्वाटरफाइनलमा

 घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो ।

डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीले २-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै गोलले मान्यता पाएन ।

त्यसको ५ मिनेट नबित्दै अर्कोतर्फ एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीलाई अघि बढाए । त्यसपछि जमाल मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

त्यसअघि दिनको पहिलो खेलमा स्विटजरल्यान्डले साविक विजेता इटालीलाई २-० ले हराएको थियो । प्रतियोगिता अन्तर्गत भोली राउन्ड अफ १६ चरणमै इंग्ल्यान्डले स्लोभाकिया तथा स्पेनले जर्जियासँग खेल्नेछ । जर्मनीले स्पेन र जर्जियाको विजेतासँग खेल्दा अर्को खेलको विजेताले स्विटजरल्यान्डको सामना गर्नेछ ।