इरान चुनाव: को हुन् पेजेस्कियान र सइद जलिली, को बिच हुनेछ प्रतिस्पर्धा ?

गत महिना हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि इरानमा नयाँ राष्ट्रपतिका लागि शुक्रबार मतदान भएको थियो । शनिबार त्यहाँ मतगणना भएको थियो ।

इरानमा देशको 14 औं राष्ट्रपति चुनावका लागि कुल चार उम्मेद्वारहरू मैदानमा थिए, जसमध्ये दुईले अब अर्को चरणमा प्रतिस्पर्धा गर्नेछन्। इरानको आन्तरिक मन्त्रालयका अनुसार मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएकोले अब दोस्रो चरणको मतदान (रन अफ) जुलाई ५ मा हुने भएको छ ।

इरानमा कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा दोस्रो चरणको निर्वाचन आयोजना गरिन्छ। जुलाई ५ मा हुने प्रतिस्पर्धा सुधारवादी मानिने नेता मसुद पेजेस्कियान र कट्टरपन्थी मानिने सइद जलिलीबीच हुनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको आन्तरिक मन्त्रालयका प्रवक्ताले कुल २४.५ मिलियन भोटमध्ये पेजेस्कियानले १०.४ मिलियन (१०,४१५,९९१) भोट र सइद जलिलीले ९४.७ मिलियन (९,४७३,२९८) भोट पाएका छन् ।

प्रवक्ता मोहसिन इस्लामीले भने, ‘निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेकाले सबैभन्दा बढी मत ल्याउने पहिलो र दोस्रो उम्मेदवारको बारेमा अभिभावक परिषद्लाई जानकारी गराइनेछ । यसपटक इरानको चुनावमा निकै कम मतदान भएको बताइएको छ ।

विज्ञहरूले यसलाई इरानी व्यवस्थाप्रति जनताको विश्वासमा कमी आएको भन्दै छन् । इरानको कुल जनसंख्या ९ करोड छ, जसमध्ये योग्य मतदाताको संख्या करिब ६ करोड १५ लाख छ । इरानको आन्तरिक मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार करिब ४० प्रतिशत जनताले यी चुनावमा आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा कम मतदाता हो। इब्राहिम रायसीले जुन २०२१ मा इरानमा सत्ता हात पारेका थिए। उनको यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । उनी बाहेक विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित नौ जनाको यस दुर्घटनामा मृत्यु भएको थियो । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेपछि रायसी ताब्रिज सहरतर्फ गइरहेका थिए तर उनको हेलिकप्टर पहाडमा दुर्घटना भएको थियो ।

गार्जियन काउन्सिलले इरानमा कसले चुनाव लड्ने र कसले नगर्ने निर्णय गर्छ। यस परिषद्का सदस्यहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी आफैंले मनोनीत गरेका छन्। उहाँ आफैं यसको प्रमुख हुनुहुन्छ। सुरुमा संरक्षक परिषद्ले यस निर्वाचनका लागि ६ जना उम्मेदवार तय गरेपनि कन्जरभेटिभको मत विभाजन हुने डरले दुई जना उम्मेदवारलाई हटाएको थियो ।

यी चार उम्मेदवारहरू सुधारवादी नेता मसूद पेजेस्कियान, इरानको रिभोलुसनरी गार्डका पूर्व कमाण्डर मोहम्मद बाकेर कालिबाफ, पूर्व आणविक वार्ताकार सईद जलिली र धार्मिक नेता मोस्तफा पौरमोहम्मदी हुन्। तर, पेजेस्कियानको चुनावी मैदानमा प्रवेशलाई वाइल्डकार्डको रुपमा हेरिएको छ ।

इरानको निर्वाचन आयोगका अनुसार यसपटक निर्वाचनमा मतदानका लागि देशभित्र ५८ हजार ६ सय ४० मतदान केन्द्र बनाइएको छ भने ९५ भन्दा बढी देशमा ३ सय ४० विशेष केन्द्रहरू निर्माण गरिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेबाट मतदान सुरु भएको हो । साँझ ६ बजेसम्म मतदान हुने भनिए पनि अधिकारीले ६ घण्टा थपेर मध्यरातसम्म मतदान चलाइएको थियो ।