टी–२० विश्वकप विराट कोहलीको पहिलो अर्धशतक

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतीय टिमका पूर्वकप्तान विराट कोहलीले अर्धशतक पूरा गरेका छन् । उनले ४८ बलमा चार चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

विश्वकप २०२४ मा कोहलीको यो पहिलो अर्धशतक हो । समग्र टी–२० आई करियरमा भने उनको यो ३८औँ अर्धशतक हो । 

भारतले तेस्रो विकेटको रूपमा अलराउन्डर अक्षर पटेललाई गुमायो । उनलाई १३.३ ओभरमा क्विन्टन डिककले रनआउट गरे । अक्षरले आज ३१ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए ।  भारतले तेस्रो विकेटको रूपमा सूर्यकुमार यादवलाई गुमायो । उनले आज चार बलमा तीन रन मात्र बनाए । सूर्यलाई कागिसो रबाडाले ४.३ ओभरमा क्याच आउट गराएका हुन् । 

भारतले दोस्रो विकेटको रूपमा विकेटकिपर ऋषभ पन्तलाई गुमायो । उनी दोस्रो ओभरको अन्तिम बलमा केशव महराजको हातबाट क्याच आउट भए । यही ओभरको चौथो बलमा रोहित शर्मा आउट भए । उनी पनि महाराजको बलमा क्याच आउट भए । रोहितले आज ५ बलमा दुई चौकाको सहयोगमा ९ रन जोडे ।     

भारत र दक्षिण अफ्रिकाले फाइनल खेलमा पनि प्लेइङ–११ मा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले १० वर्षपछि विश्वकप फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो । 

भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।  

दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघिको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो ।