बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

काठमाडाैँ, १५ असारः बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो ।

शङ्कर बस्तीमा खसी, बाख्रा, कुकुरलगायतका घरपालुवा जनावर मारेपछि केजमा फसाएर चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभएको छ । वयस्क भाले चितुवा व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । स्थानीयले गाउँमा चितुवाले जनावर मारेको सूचना दिएपछि क्यामरा ट्र्याप गरी अनुगमनका क्रममा चितुवा देखिएपछि नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

केज राखेको दुई दिनमा चितुवा फसेको हो । स्थानीयले अर्को पनि जोडी चितुवा रहेको वन कार्यालयलाई सूचना दिएका छन् । त्यसलाई पनि अनुगमन गरी पुनः नियन्त्रणमा लिइने वन कार्यालयले जनाएको छ । वन्यजन्तु नियन्त्रणमा लिएपछि व्यवस्थापनमा चुनौती रहेको उहाँले बताउनुभयो ।