टि–२० विश्वकपकाे फाइनलमा विराटले राम्राे प्रदर्शन गर्ने अपेक्षा

ट्वान्टी–२० विश्वकप २०२४ को फाइनल खेल आज हुँदै छ । आज भारत र दक्षिण अफ्रिका उपाधिका लागि भिड्दै छन् ।

दुवै टोली शानदार लयमा छन् । भारतले सेमिफाइनलमा इंग्ल्याण्डलाई हराएको थियो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई । दुवै टोली शानदार लयका साथ फाइनल भिड्न तम्तयार भएका छन् ।

यता, भारतका स्टार ब्याटर विराट कोहली भने यो विश्वकपमा फ्लप भएका छन् । सेमिफाइनलअघि भारतीय समर्थकले विराटको ब्याटबाट रन आउने अपेक्षा गरेका थिए । तर, त्यसो भएन । यो विश्वकपमा कोहलीको प्रदर्शन निकै सामान्य रहेको छ । यस प्रतियोगितामा उनको अहिलेसम्मकै उच्च स्कोर मात्र ३७ रहेको छ ।

तर, उनलाई भारतीय टोलीले भने विश्वास गरेको छ । कोहलीले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय कप्तान रोहित शर्माको विश्वास छ ।

‘हामी सबैलाई उसको क्षमताबारे थाहा छ । १५ वर्षसम्म खेलेका उनको फार्ममा कुनै समस्या छैन,’ रोहितले भने, ‘सायद उनले फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’