शरणार्थी प्रकरणको फाइल खुलेपछि आत्तिए देउवा, ओलीलाई भेट्न बालकोटमा

सत्ता गठबन्धनका प्रमुख नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धान दिवस मनाउन चितवन पुगेका बेला देउवा ओलीनिवास पुगेका हुन् । यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

शनिबार काठमाडौं कमलादीथित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धचरण हलमा आयोजित पुष्पकलावती जन्मजयन्ती समारोहमा जाने तालिका रद्द गरेर ओली देउवासँग वार्तामा व्यस्त भएका हुन् । 

देउवा यस्तो समयमा बालकोट पुगेका छन, जतिबेला नक्कली शरणार्थी प्रकरणको फाइल प्रहरीले फेरि खोलेको छ र अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका छन्। पछिल्लो २४ घण्टाभित्र यस प्रकरणका २ ठूला अभियुक्त पक्राउ परिसकेका छन् । बादलका छोरा प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परेपछि अब अनुसन्धानको सुई आरजु देउवा र मञ्जु खाणतिर पनि सोझिन सक्नेछ ।